मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतको सहयोगमा पुनर्निर्मित पाटनका गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र १२, शुक्रबार
780
SHARES
भारतको सहयोगमा पुनर्निर्मित पाटनका गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन

ललितपुर, साउन १२ – भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापित पाटनको गुइत टोलस्थित ऐतिहासिक गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ।

प्रतिनिधि सभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। कार्यक्रममा उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार विशेष समारोह पनि सम्पन्न गरिएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।

भारत सरकारको करिब नेरु १२ करोड बराबरको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा उक्त सम्पदा स्थलहरूको पुनर्निर्माण गरिएको हो। परियोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको हो भने यसको डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेज ९क्ष्ल्त्ब्ऋज्० ले उपलब्ध गराएको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जगदीश खरेलले स्थानीय समुदायको सक्रिय भूमिका र उत्थानशीलताको प्रशंसा गर्दै गुस्तल महाविहारजस्ता प्राचीन जीवन्त सम्पदा स्थलहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा भारत सरकारले प्रदान गरेको सहयोगको पनि सराहना गर्नुभयो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्थानीय समुदायको सहयोग पनि उल्लेखनीय रहेको बताउनुभयो।

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्दै नेपालका ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्स्थापनामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुनर्निर्माण गरिएका संरचनाहरू दुई देशबीचको साझा सांस्कृतिक सम्पदा र मित्रताको दिगो प्रतीकका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षणमा सहयोग गरेको छ। साथै गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा पनि सहयोग पुर्‍याएको जनाएको छ।

उक्त परियोजनाले नेपाल सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयासलाई थप सुदृढ बनाउनुका साथै नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार