मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशन, बन्दसत्र र निर्वाचन स्थल अझै अन्योलमा ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २४, बुधबार
416
SHARES
खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशन, बन्दसत्र र निर्वाचन स्थल अझै अन्योलमा ।

२४ भदौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा हुने भएको छ । पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनको उद्घाटन कार्यक्रम खुलामञ्चमा गर्ने निर्णय गरेको हो ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई प्राथमिकतामा राखिएको छ । महाधिवेशनमा देशभरबाट ठूलो संख्यामा प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुने भएकाले खुला र फराकिलो स्थान रोजिएको कांग्रेस नेताहरूको भनाइ छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार महाधिवेशनको बन्दसत्र समेत खुलामञ्चमै सञ्चालन गर्ने तयारी भइरहेको छ । यद्यपि बन्दसत्रको अन्तिम व्यवस्थापन तथा कार्यक्रम तालिकाबारे थप निर्णय हुन बाँकी रहेको बताइएको छ ।
महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यक्रम भने कहाँ सञ्चालन गर्ने भन्ने टुंगो लागिसकेको छैन । निर्वाचनका लागि आवश्यक पूर्वाधार, प्रतिनिधिको आवागमन तथा व्यवस्थापनलाई ध्यानमा राखेर उपयुक्त स्थान छनोट गर्ने तयारी कांग्रेसको छ ।

यसैबीच कांग्रेसले महाधिवेशनको व्यवस्थापनका लागि राष्ट्रिय सभागृहसँग आवश्यक पूर्वाधार उपलब्ध गराउन औपचारिक आग्रह गरेको छ । पार्टीले मंगलबार राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै असोज १५ देखि २० गतेसम्म प्रदर्शनी हल, लवी, पार्किङ क्षेत्र तथा बगैंचा उपलब्ध गराई बुकिङ गर्न अनुरोध गरेको हो ।

महाधिवेशन अघि नै आवश्यक तयारी पूरा गर्न पार्टीले विभिन्न समितिमार्फत व्यवस्थापनको काम अघि बढाइरहेको छ । प्रतिनिधि व्यवस्थापन, कार्यक्रम सञ्चालन, सुरक्षा तथा निर्वाचनसम्बन्धी तयारीलाई समेत तीव्र बनाउने कांग्रेसको योजना छ ।

यसपटकको महाधिवेशन कांग्रेसका लागि नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशाका हिसाबले पनि महत्वपूर्ण मानिएको छ । त्यसैले महाधिवेशनस्थल र कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउन पार्टी नेतृत्वले तयारीलाई प्राथमिकता दिएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार