मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वसन्त खनालको पहिलो कृति ‘वेध’ लोकार्पण, स्याङ्जामा स्रष्टाहरूको जमघट ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन २६, सोमबार
1.8K
SHARES
वसन्त खनालको पहिलो कृति ‘वेध’ लोकार्पण, स्याङ्जामा स्रष्टाहरूको जमघट ।

वालिङ, २६ असोज । साहित्यिक सिर्जना, स्रष्टा सम्मान र विचारको सङ्गम बनेको ‘वेध सिर्जना उत्सव–२०८३’ स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । उत्सवका अवसरमा युवा साहित्यकार वसन्त खनालको पहिलो साहित्यिक कृति ‘वेध’ लोकार्पण गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन तथा वालिङ नगरपालिकाको सहयोगमा वालिङ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको थियो । सूर्यप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, प्राध्यापक, शिक्षाविद् तथा विभिन्न साहित्यिक संस्थामा आबद्ध स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

साकिरा प्रतिष्ठानद्वारा प्रकाशित तथा निर्बन्ध–आख्यान र काव्य सिर्जनाका प्रणेता मिलन समीरद्वारा सम्पादित ‘वेध’ मा २६ वटा समसामयिक निर्बन्ध–आख्यान समेटिएका छन् । कृतिमाथि डा. शङ्करप्रसाद गैरे र शान्ता थापाले समीक्षात्मक मन्तव्य राख्दै कृतिको विषयवस्तु, लेखनशैली र स्रष्टा खनालको सिर्जनात्मक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो । कृतिकार खनालले आफ्नो लेखकीय अनुभूति प्रस्तुत गर्नुभएको थियो भने अन्य वक्ताहरूले नेपाली साहित्यमा नयाँ पुस्ताको सक्रियता र सिर्जनात्मक यात्राको महत्त्व औँल्याएका थिए ।

कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने, सहप्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र डा. पुण्यप्रसाद शर्मा, शिक्षाविद् लक्ष्मीप्रसाद रेग्मीलगायत विभिन्न साहित्यिक तथा शैक्षिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । स्याङ्जाका अग्रज स्रष्टा, साहित्यिक संस्थाका नेतृत्वकर्ता, युवा सर्जक तथा गुरुङ चलचित्रकर्मी ताराबहादुर गुरुङ समेत सम्मानित हुनुभएको थियो ।

वालिङ नगरपालिका–१४, गाएडाँडामा जन्मिनु भएका वसन्त खनाल हाल भीरकोट–५ स्थित राजेन्द्र भवानी माध्यमिक विद्यालयमा कार्यरत रहँदै नेपाली साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । पृथ्वीनारायण क्याम्पस, पोखराबाट स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका खनाल वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक अभियन्ता समेत हुनुहुन्छ । ‘वेध’ उहाँको पहिलो साहित्यिक कृति हो ।

उत्सवलाई साहित्यिक प्रस्तुति मार्फत थप जीवन्त बनाइएको थियो । सिजन अर्याल, सिर्जना खनाल, दिलीप तिवारी, डोलराज डुम्रे ‘विकल्प’, लक्ष्मी काफ्ले, विष्णु पङ्गेनी पाण्डेलगायत स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सागर खनालको स्वागत मन्तव्य र ताराबहादुर गुरुङको स्वागत नृत्यले कार्यक्रमको रौनक बढाएको थियो । कार्यक्रमको संयोजन अभियानका संस्थापक संयोजक तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो ।

‘वेध’ को लोकार्पणसँगै सम्पन्न सिर्जना उत्सवले स्थानीय साहित्यिक गतिविधिलाई ऊर्जा प्रदान गर्नुका साथै नयाँ पुस्ताका स्रष्टालाई प्रोत्साहन गर्ने र अग्रज तथा अनुजबीच सिर्जनात्मक सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गरेको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार